
अस्ट्रेलिया — नेपालले जलस्रोतको उचित तथा वैज्ञानिक उपयोग र व्यवस्थापन गर्न अस्ट्रेलियासँग एक सम्झौता गरेको छ । नेपालका तर्फबाट जलस्रोत मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र अस्ट्रेलियाका तर्फबाट विदेश मन्त्रालयकी सचिव जान एडम्सले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार अस्ट्रेलियाका विज्ञहरूले नेपालका पानीका स्रोतको वैज्ञानिक, व्यावहारिक तथा जलवायु प्रदूषण नियन्त्रण गरी उपयोगका लागि योजना निर्माणमा सहयोग गर्नेछ । अस्ट्रेलियाको वैज्ञानिक निकाय कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) ले समेत आवश्यकताअनुसार यस कार्यमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । जलवायु परिवर्तनको समस्या बढिरहेको सन्दर्भमा नेपालको पानी पिउन, सिँचाइ तथा विद्युत् उत्पादन कसरी गर्ने भन्ने विषयमा विज्ञहरूले योजना निर्माण तथा क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउने जनाइएको छ ।
क्यानबेरामा सम्पन्न सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका जलस्रोत सचिव घिमिरेले सन् २०१७ मा नै अस्ट्रेलियासँग यस्तो सम्झौता भएको जनाउँदै हालको सम्झौता त्यसकै निरन्तरता भएको बताए । जलस्रोतका विषयमा नेपालले अस्ट्रेलियाबाट धेरै सहयोग लिन सक्ने घिमिरेको बुझाइ छ । ‘यसले नेपालको जलस्रोतको उपयोग, क्षमता अभिवृद्धि, आयोजना निर्माण र कार्यान्वयनका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्नेछ,’ उनले कान्तिपुरसँग भने ।सचिव घिमिरेले कमला रिभर बेसिनको योजना निर्माणमा सीएसआईआरओले सहयोग पुर्याइरहेको बताउँदै अबको पाँच वर्षमा पनि अस्ट्रेलिया सरकारबाट विभिन्न सहयोग पाउने आशा व्यक्त गरे । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सम्झौता नेपालको जलस्रोतको वैज्ञानिक व्यवस्थापन योजना निर्माणका लागि महत्त्वपूर्ण भएको बताए ।
सम्झौतामा दुई देशबीच जलस्रोत व्यवस्थापन तथा सहयोगका लागि द्विदेशीय संयन्त्र स्थापना गर्ने उल्लेख छ । घिमिरेका अनुसार संयन्त्रमा नेपालका तर्फबाट जलस्रोत मन्त्रालयका सचिव र अस्ट्रेलियाका तर्फबाट नेपालका लागि अस्ट्रेलियाली राजदूतले प्रतिनिधित्व गर्नेछन् ।


