सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ । नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान् । तर, नाम अनुसारको ठाउँ भने देखिँदैन । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ । सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ गर्मी समय भएकाले छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् । र, उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुगेको बताएका छन् ।




