
काठमाडौं । नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ ।नेपाली खानाको प्रवद्र्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिए । उनले भने, “नेपाली खानाको प्रवद्र्धनका लागि एउटा प्लेटफर्म क्रियट गरौँ भनेर यो अभियान चलाइएको हो । हामीसँग नेपाली खाना र मिडिया हुनुहुन्छ, मैले पुलका रुपमा काम गर्न लागेको हुँ ।”
धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्नेछन् । सेफ नेपाल रियालिटी शोमा सेलीब्रेटी जजका रुपमा नायिका प्रियङ्का कार्की रहेकी छन् । नेपालमौ नौलो शोका रुपमा निर्माण गर्न लागिएको शोमा नेपाली खानाका पारखी र यस क्षेत्रमा रुचि हुनेलाई प्रोत्साहन गर्नुका साथै नेपाली खानाको प्रचारप्रसारमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ ।
साउनदेखि सञ्चालनमा आउने उक्त शोका लागि करिब रु चार करोड खर्च हुने जनाइएको छ । साउन पहिलो सातादेखि कार्यक्रम उत्पादन गरिने र अन्तिम सातादेखि कार्यक्रम प्रसारण हुने निर्माता पाण्डेले जानकारी दिए । विजेतालाई रु २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।


