६८.२ प्रतिशत मात्र राजस्व संकलन

सबै

आर्थिक वर्ष २०७९/८० मा सरकारले लक्ष्यको ६८.२ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो । यो सो वर्षको लक्ष्य पूरा नभएको अवस्था मात्र नभई अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा संकलित रकमको तुलनामा समेत ठूलो गिरावट हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आव २०७९/८० को अद्यावधिक विवरण अनुसार यस आवमा अघिल्लो आवको तुलनामा राजस्व १०.२ प्रतिशत कम संकलन भएको छ ।

यस आवमा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, संकलन भने ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ६८.२ प्रतिशत मात्र हो । मन्त्रालयका अनुसार भन्सार विन्दुबाट संकलन हुने राजस्वको हिस्सा निरन्तर घट्दै जाने क्रममा समग्र राजस्वमै असर परेको हो ।

अर्थ मन्त्रालयले भनेको छ– ‘नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिका कारण ब्याजदर तुलनात्मक रूपमा उच्च रहन पुग्यो । साथै केही वस्तुको आयातमा गरिएको प्रतिबन्धका कारण वस्तु पैठारीमा उल्लेख्य कमी आएको थियो । जसले गर्दा भन्सार विन्दुमा संकलन हुने राजस्व घटेको र यसको प्रत्यक्ष प्रभाव समग्र राजस्व परिचालनमा परेको छ ।’मन्त्रालयका अनुसार यस आवमा मुलुकभित्र आन्तरिक मागमा कमी आयो । जसका कारण आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित हुनपुग्यो । यसरी अर्थतन्त्र चलायमान हुन नसक्दा त्यसको असर राजस्व संकलनमा पर्न पुगेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार विन्दुमा संकलन हुने राजस्वको हिस्सा यस वर्ष ४४.३ प्रतिशत मात्र रहेको छ । अघिल्लो आवमा यस्तो राजस्वको हिस्सा ५०.६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *