राससको नवनिर्मित भवन खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बनोस् ः मन्त्री चौधरी

सबै

काठमाडौँ। शहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति (रासस) को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।राससको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज केन्द्रीय कार्यालय परिसरमा सम्बोधन गर्नुहुँदै उहाँले गुणस्तरीय समाचार सेवा प्रदान गर्न पनि अत्याधुनिक भवनले मद्दत पुग्ने बताउनुभयो । “संविधानको संस्थागत विकास र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पनि राससजस्ता संस्थाका माध्यमबाट सहयोग पुग्छ, समाजवादी अर्थतन्त्र निर्माणमा पनि राससबाट सहयोग हुने विश्वास लिएको छु”–मन्त्री चौधरीले भन्नुभयो ।  विसं २०७२ वैशाख १२ एवं २९ गतेको ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभयो । प्रधानमन्त्री देउवाले नै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ । स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *