
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस) ले व्यावसायिक पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यता र मूल मर्मबाट विचलित नभईकन आफ्नो ऐतिहासिक गरिमालाई अझ अभिवृद्धि गर्दै लैजाने विश्वास व्यक्त गर्नुभएको छ । राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले राससले सदैव समाचार समिति क्षेत्रको एउटा अग्रणी संस्थाका रुपमा आफूलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “नागरिकको सूचना पाउने संवैधानिक हकलाई सम्मान गर्दै सूचनामा आम नागरिकको पहुँचलाई अभिवृद्धि गर्न राससलगायत अन्य सञ्चारमाध्यमलाई अहिले विशेष चुनौती छ, छिटो सूचना दिने नाउँमा मिथ्या सूचना प्रवाह गर्दा त्यसले समाजलाई पार्ने नकारात्मक प्रभावतर्फ पनि हामी सजग हुनुपर्छ ।” उहाँले राससको नवनिर्मित भवनले समग्र कार्य प्रणाली र सेवा प्रवाहलाई अझ महत्वपूर्ण, प्रभावकारी र समयानुकूल बनाउन उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गर्दै विगत ६ दशकदेखि नेपालमा राससले विश्वसनीय सूचना प्रवाह गर्ने संस्थाका रुपमा आफूलाई स्थापित गरेको बताउनुभयो । मन्त्री कार्कीले ठूलो भवनसँगै राससले दक्ष जनशक्ति, आधुनिक उपकरण र सामग्रीको बदलिँदो परिवेशअनुरुप समाचार सामग्री प्रस्तुत गर्न सफल हुने विश्वास व्यक्त गर्दै राससको समग्र विकासमा सहयोग र सहजीकरण गर्न सरकार सदैव तयार रहेको जानकारी दिनुभयो ।


