रवि लामिछानेको प्रतिबद्धता : शिक्षकलाई सबैभन्दा धेरै तलब, भ्रष्टाचारीको चल अचल सम्पत्ति जफतधर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने

सबै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले भ्रष्टाचार नसहने र भ्रष्टाचारी कसैलाई नछाड्ने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी, व्यापारी सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् ।

उनले भने–‘भ्रष्टाचारी सम्पूर्ण चल, अचल सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनेछ । मुद्दा छिटो छरितो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ । वर्षौँदेखि थन्किएर बसेका मुद्दाको छिटो फैसलाको वातावरण बनाइनेछ, लैङ्गिक अल्पसङ्ख्यक, बालिका, महिला बलात्कारका मुद्दा छिटो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ ।’

यस्तै जबर्जस्ती करकापमा पारेर धर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने बताए । सनातन वैदिक संस्कृतिलाई प्रवर्द्धन गर्ने, विदेशमा फसेका नेपालीको उद्धार गर्नका लागि र्‍यापिड एक्सन टिम बनाउने बताए । मजदुर किसानका गुनासा सुन्न हेल्प डेस्क बनाउने र उनीहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने बताए । 

स्वास्थ्य उपचार गर्दा सुरुमै पैसा नमाग्ने, उपचार पछि पैसा माग्ने नीति बनाउने बताए । सक्नेले पैसा तिर्ने र नसक्नेको उपचारको पैसा सरकारले तिरिदिने बताए । उनले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने बताए । यस्तै साना स्वरोजगार व्यवसायीलाई विस्थापन नगरी व्यवस्थापन गर्ने बताए । विपत्मा परेका नागरिकलाई सहुलियतमा ऋण दिने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *