
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले भोलि साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
महानगरले सूचना निकालेर कुहिने फोहर सङ्कलन गर्ने दिन आइतवार र बुधवार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमवार र शुक्रवारलाई तोकेको छ । तोकिएअनुसार नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ । महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहर वर्गीकरण गर्न अनुरोध गरेको थियो ।
फोहरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुने सूचनामा उल्लेख छ । काठमाण्डौ महानगरको वातावरण विभाग प्रमुख सरीता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले नागरिकले त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
नागरिकले सूचनालाई बेवास्ता गरेमा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने तयारी छ । पछिल्लो समय महानगरसहित काठमाण्डौ उपत्यकाका १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम जटिल बन्दै आएको छ ।
नुवाकोटको सिसडोल भरिनुका साथै त्यहाँसम्म जाने सडकमा स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि महानगरले भोलिदेखि नयाँ अभ्यास सुरु गर्न लागेको हो ।


