
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको जानकारी सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन्।
निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ।
यसअघि निर्वाचन आयोगले मङ्सिर २ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। तर बुधवार सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीचको छलफलपछि मङ्सिर ४ गते निर्वाचन गर्ने निष्कर्षमा सरकार पुगेको थियो।

निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न सकिने बताएपछि सरकारले आगामी निर्वाचन देशैभरि एकैदिन गर्ने निर्णय गरेको हो।
मतदाता नामावलीमा नाम दर्ता गराएका र १८ वर्ष उमेर पूरा भएका हरेक नागरिकले निर्वाचनमा मतदान गर्न पाउँछन्। उम्मेदवार हुन भने २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था छ।
आगामी निर्वाचनमा दुईवटा निर्वाचन प्रणालीबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन्।
यसअघि २०७४ साल मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो।


