चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

सबै

काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो। भ्रमणका लागि निस्किएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवार पनि केहीबेर केबलकारमै अड्किएका थिए। त्यतिबेला १४० जना केबलकारमा फसेका थिए।चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पुगेका अझै १५० जना पर्यटकको उद्दार गर्न बाँकी रहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।’अझै डेढ सय मानिसहरू माथि बाँकी हुनुहुन्छ,’ उनले भने। प्रहरीले माथिबाट हिँडाएर ल्याइरहेको छ,’ उनले भने,‘हामी १५० जनाभन्दा बढी प्रहरीहरू खटिएका छौं। पैदल हिँडाउँदा बाटोमा केही हुनसक्ने डरले हामी खटिएका छौं।’अहिले उद्दार गर्नको लागि प्रहरी वृत्त थानकोटका डिएसपी, प्रहरी वृत्त कीर्तिपुरका डिएसपी, प्रहरी वृत्त नागार्जुनका निरीक्षक, प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक, नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोली खटिएर उद्दार गर्ने काम भइरहेको छ। यस घटनाबारे दिउँसो बुझ्दा चन्द्रागिरिका जनरल म्यानेजर सञ्जीव थापाले ‘टेक्निकल फल्ट’का कारण केहीबेरमात्रै अड्किएको बताएका थिए। उनले केबलकार १५ मिनेटमात्रै अड्किएको बताएका थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *