खोटाङमा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु

सबै

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठन–पाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालू शैक्षिक सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन–पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालू शैक्षिक–सत्रबाट च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठन–पाठन सुरु गर्ने तयारी गरिएको छ ।पिपलटार आधारभूत विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन बाँकी छ । लोपोन्मुख भाषाको संरक्षण र संबर्द्धनका लागि तिलुङभाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा सोही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो । हालसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ राई बुगाकिमले जनाएको छ । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा पुगेको तिलुङभाषी विद्यार्थीको बाहुल्यता भएका अन्य विद्यालयमा क्रमशः भाषाको पठन–पाठन हुने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *