
२१ असार, पोखरा । पोखरा पर्यटन बसपार्क र गल्फ ड्राइभिङ रेन्जको ठेक्का पाउने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको ज्वाइँ भएको खुलेको छ ।
जिसीले कार्यकाल सकिनुभन्दा २ दिनअघिमात्र गल्फको ४० रोपनी जग्गा २५ वर्षलाई ठेक्का दिने सम्झौतामा हस्ताक्षर गरेका थिए । ३ असारमा भएको सम्झौतामा मेयर जिसी र एक्सन विल्डर्स सेवा प्रालिका तर्फबाट विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । भण्डारी मेयर जिसीका ज्वाइँ राम भण्डारीका सहोदर भाइ हुन् ।
यसैगरी पोखरा बसपार्कको १८ रोपनी जग्गा सोही दिन मेयर जिसी र शिलाशालिग्राम निर्माण सेवा प्रालिबीच सम्झौता भएको छ । शिला शालिग्रामका तर्फबाट छविलाल कुँवरले हस्ताक्षर गरेका छन् । त्यो कम्पनी पनि विष्णु भण्डारी समूहकै हो ।
भण्डारीले एक/डेढ वर्ष अगाडिदेखि नै बसपार्क हात पार्नका लागि कसरत गरिरहेका थिए । भण्डारीकै समूहको रिद्धिसिद्धी कन्ट्रक्सनले तनहुँको ब्यास नगरपालिकामा पनि मादी पुलदेखि शिशाघाटसम्मको ढुंगा गिटी बालुवाको ठेक्का लिएको छ । व्यासमा ६ करोडभन्दा रकममा घाट ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।


