
चुरे दोहनले गर्दा जनकपुरको कृषि क्षेत्र मरुभूमि बन्दै गइरहेको जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताएका छन् । ‘जनकपुरको पुनर्जागरण : वैभव फर्काउने अवसर’ शीर्षकको तेस्रो सत्रमा वक्ताका रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘खेतभन्दा माथि नदीको तट छ,’ उनले भने, ‘नदीको पानी माथि नै बग्यो भने आजबाट नै छर्की बाध्ने अवस्था आउँछ । जनकपुरको कृषि क्षेत्र मरुभूमि बन्दै गइरहेको छ ।’
यस सत्रमा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रदेशसभा सदस्य रामआशीष यादव, कानुन व्यवसायी रेखा झा र लेखक तथा विश्लेषक रोशन जनकपुर वक्ता रहेका छन् । यस सत्रलाई कान्तिपुरका मधेश प्रदेश ब्युरो प्रमुख अजित तिवारीले सञ्चालन गरेका छन् ।
यस सत्रमा बोल्दै मेयर साहले नदीको बेडको जिम्मा तीन तहका सरकारमध्ये संघ र प्रदेशले मात्रै पाएको बताए ।
‘कमला नदी संघीय सरकारले पाएको छ भने जलायत खोला प्रदेश सरकारले पाएको छ,’ उनले भने, ‘स्थानीय सरकारलाई कुनै अधिकार छैन ।’ मधेश मन्थनमा चुरे दोहनको विषयमा उचित छलफल भएको र मधेशको विकासमा यसले ठूलो प्रभाव पार्ने उनको भनाइ थियो ।
जनकपुरको पुनः जागकरणका लागि आफूहरूले सुरुमा सरसफाइको मुद्दा उठाएको मेयर साहले अवगत गराए । ‘जनकपुर फोहोर भयो भन्ने गुनासो थियो,’ उनले भने, ‘हामीले सुरुमा यसमै काम गर्यौं । भएकै संरचनामा रहेर केही सुधार गरिएको छ । आउँदा दिनमा कुहिने र नकुहिने फोहोर छुट्याएर मल बनाउने काममा लाग्नेछौं ।’
मेयर साहका अनुसार अहिले जनकपुरमा निकै कम फोहोर देखिन्छ । अबको चार महिनाभित्रमा कुहिने फोहोरबाट मल निकाल्ने प्रक्रिया सुरु गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।


