
भरतपुर । सात वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालकलाई जिल्ला अदालत चितवनले चार महिना कैद सजाय सुनाएको छ । चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले असोज ६ गते अभियोग दाबी पुग्ने भन्दै उक्त फैसला गरेको अदालतका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।बालकलाई चार महिना कैदसँगै थप ५० हजार जरिवाना तोकिएको छ । जरिवाना रकम बुझाएमा कैद मिनाहा हुन सक्ने भनी फैसला भएको श्रेष्तेदार आचार्यले बताए । अदालतमा दर्ता भएको एक वर्षपछि मुद्दा जिल्ला अदालतबाट किनारा लागेको छ ।
बालबालिकाको हकमा उनीहरुको उमेर र भविष्यलाई ख्याल गरी अन्य व्यक्तिसरह कारबाही नहुने वा नगर्ने भन्ने कानुनी सुविधा रहेको छ’, श्रेष्तेदार आचार्यले बताए । तर, जरिवाना नतिरेको हकमा भने कैदस्वरुप बालगृहमा राखिने उनले बताए ।०७८ साउन महिनामा भरतपुर महानगरका बासिन्दा ती बालकले सात वर्षकी बालिकालाई बलात्कार गरेको भनी चितवन प्रहरीमा उजुरी परेको थियो । बालिकाको तर्फबाट संरक्षक रहेकी आमाले उजुरी दिएकी थिइन् ।यसअघि भएको आदेशमा आरोपित बालकलाई अभिभावकको जिम्मामा छाड्ने भनिएकोमा फैसलामा भने कैद तथा जरिवाना तोकिएको हो ।
तत्कालीन न्यायाधीश हेमन्त रावलको ०७८ भदौ ३ गतेको आदेशले बालकलाई अभिभावकको जिम्मा छाडिएको श्रेष्तेदार आचार्यले जानकारी दिए ।चितवनमा गत वर्षमात्रै २५ जना बालबालिका बलात्कार तथा वलात्कारजन्य अपराधबाट पीडित भएको भनी प्रहरीमा उजुरी परेको थियो । पीडित र पीडक दुवै बालबालिका संलग्न आधा दर्जन घटना रहेका छन् ।


