

४ साउन, काठमाडौं । मंगलबार बिहान १० बजे काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्कियो । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किंदा जोरपाटी चोक केही समय हिलाम्य बन्यो । स्थनीयहरू उक्त हिलाम्य भएको लेदो माटोको फोहोरा हेर्न आए । बोरिङ खनेको वरपरका १५-२० घरमा लेदो माटोले ढाकियो । जमीनमुनिबाट निस्केको उक्त लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्यायो । यसले त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारणलाई केही समय त्रसित नै बनायो । माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरूमा हिलो र लेदो भरिए । उनीहरू केही समय घर छाडन बाध्य भए भने हिडिरहेका समस्यामा परे । भौगर्भिक अध्ययनका अनुसार काठमाडौंमा ग्यास भण्डारण छ । तर कहाँ कति मात्रामा छ भन्ने विस्तृत अध्ययन भने हुन बाँकी रहेको भुगर्भ विद् डा.कृष्ण देवकोटा बताउँछन् । जोरपाटीमा मंगलबार निस्किएको मिथेन ग्यासबारे आफूले थाहा पाएको तर त्यसको रिपोर्ट हेर्न भने बाँकी रहेको बताए । उनका अनुसार काठमाडौंको गोकर्णेश्वर, टेकु, कीर्तिपुरको गणतन्त्र स्मारक पछाडि मिथेन ग्यास रहेको छ । उनी भन्छन्, ‘धेरै पहिला गोकर्णेश्वरमा पनि यस्तै ग्यास भण्डारण भएको पत्ता लागेको थियो । पछि मानिसहरूले थाहा पाए । तर सरकारले चासो दिएन । अहिले जोरपाटीमा यही अवस्था देखियो । तर कति मात्रा हो त्यो थाहा छैन । ‘ मिथेन ग्यास भण्डारण हुँदा खासगरी सकारात्मक र नकारात्मक असरहरू दुवै हुन्छ । उनका अनुसार मिथेन ग्यासको परीक्षणपछि मात्रै कति विषालु छ थाहा हुन्छ । यदि विषालु भएमा यसले मानव स्वास्थ्यमा ठूलो असर गर्ने उनको भनाइ छ । मिथेन ग्यास कलरलेस, अर्डरलेस र उच्च प्रज्वलनशील गरी तीन प्रकारको हुने भएकाले सर्वधारण थाहा नपाइकनै हिडेमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘मिथेनको मात्रा उच्च छ र हामीले यसकोमा मात्रा थाहा नपाइकन त्यो क्षेत्रबाट हिँडेमा स्वास्थ्यमा गम्भीर समस्या ल्यादिन्छ । मानसिक स्थिति पविर्तन गरिदिने, बोल्ने आवाजमा परिर्वतन गरिदिने, आँखाको दृष्टिलाई कमजोर बनाइदिने, स्मरण शक्ति हराउने, बान्ता आउने र अन्मिमा बेहोस हुनेसम्म हुन सक्छ ।’ यसका साथै मिथेन ग्यासले पृथ्वीको ओजन तह घटाउन पनि मद्यत पुग्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मिथेन ग्यासले जलवायु परिवर्तनमा असर गर्छ । जलवायु परिवर्तन गराउने प्रमुख ग्यास मध्ये एक मिथेन हो । मिथेन, कार्बन डाइअक्साइड, र कार्बन मोनो अक्साइडले जलवायु परिवर्तन गर्छ ।’ तर यसलाई व्यवस्थित गर्न सकेमा जलवायू परिवर्तनमा भएको उतार चढावलाई न्यूनीकरण गर्न सकिनुका साथै यसले अर्गानिक उत्पादन बढाउन पनि मद्यत गर्ने छ । यस्तै मिथेन ग्यासलाई सही रुपमा प्रयोगन ल्याउन सकेमा व्यापारिक प्रयोजनमा लैजान सकिने, खाना पकाउने ग्यासको रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ । सरकारले ग्यासको पहिचान गरी विशेष ग्यास भण्डारण क्षेत्र घोषणा गर्नुपर्ने उनको भनाइ छ ।


