एघारदेखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप

सबै

भरतपुर। भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वडा नं ७ बाट खोपको शुभारम्भ गरिएको छ । यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले यो खोप लगाउनु पाउनु नै ठूलो कुरा भएको बताउनुभयो । धेरै प्रयासपछि खोप ल्याइएको भन्दै उहाँले यो उमेर समूहका सबैले खोप लगाउन आग्रह गर्नुभयो ।कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी दिनुभयो । अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिँदै उहाँले वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा लगाइने बताउनुभयो । उहाँका अनुसार साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ ।क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका छ हजार किशोरीलाई यो खोप लगाउँदैछ । डा शर्माले १२ हजार खोप आएको जानकारी दिँदै एक जनालाई छ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *