गृहजिल्ला पुगेर मन्त्री यादवले भने : यस्तो काम गर्छु कि वनमन्त्रीको नाम लिएर जनताले ताली बजाउने छन्

सबै

संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले अबको तीन महिना भित्रमा पर्सा जिल्लालाई विकास निर्माणको योजनाको ठूलो उपहार दिने घोषणा गरेका छन्।

मन्त्री बनेपछि पहिलो पटक शनिबार गृहनगर वीरगन्ज आएका बेला उनको स्वागतमा जसपाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो घोषणा गरेका हुन्।मन्त्री यादवले भने, ‘हुन त मेरो मन्त्रालय विकासे मन्त्रालय त होइन। तर प्रधानमन्त्री, भौतिक पूर्वाधार विकास, शिक्षालगायतका मन्त्रीहरुसँग समन्वय गरेर तीन महिनाभित्रै यो जिल्लालाई एकदमै ठूलो उपहार दिन्छु। यो मेरो घोषणा मात्रै होइन प्रतिबद्धता पनि हो।

जिल्लाका १४ वटै पालिकामा अधुरा रहेका सबै सडकहरुको टेण्डर गराएर काम शुरु गराउने घोषणा पनि उनले गरे। यसका साथसाथै पर्सामा पर्यटन प्रवर्द्धन र विकासका लागि वीरगन्जमा ललितपुरको भन्दा पनि ठूलो चिडियाखाना आफ्नै कार्यकालमा निर्माण हुने उनले बताए। यसका लागि जग्गा खोज्न वीरगन्जका मेयर राजेशमान सिंहलाई उनले आग्रह पनि गरे।भिस्वा स्तुप, विन्दवासीनी मन्दिर, भाथा मन्दिरलगायतका धार्मिक स्थललाई धार्मिक पर्यकटीय स्थलका रुपमा रुपमा विकास गर्ने आफनो लक्ष्य रहेको उनले बताए। ठोरी गाउँपालिकालाई मधेस सरकारले पर्यकटीय क्षेत्र घोषणा गरेको भन्दै उनले त्यसका लागि संघीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर सिंहले यादव मन्त्री बनेपछि जिल्लाका जसपाका नेता कार्यकर्तामा मात्र भइ सम्पूर्ण पर्सा जिल्लावासीमा नयाँ जोश जाँगर पलाएको बताए।उनले भने, ‘प्रदीप यादवज्यू मन्त्री बनेपछि जिल्लावासीमा एउटा छुटटै तरंग आएको छ, पर्साका जनता र कार्यकर्ताको आशा भरोसामा मन्त्रीज्यू खरो रुपमा उत्रिने विश्वास लिएको छु। जसपाकै तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री इस्तियाक राई पनि बनेकाले उनीसँग सहकार्य गरेर जिल्लाका १४ वटै पालिकाका रहेका सम्पूर्ण सडक निर्माणको काम तीन महिनाभित्र कार्ययोजना तयार पारेर अगाडि बढ्नेमा आफू विश्वस्त रहेको सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *