२५ वर्षीय राहुलले अझै नागरिकता पाएनन्

सबै

बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उहाँले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सक्नुभएको छैन । बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले नपाउँदा राज्यले फरक व्यवहारको गरेको अनुभवले राहुललाई सताइरहन्छ । कामका क्रममा ३३ हजार भोल्टको करेन्टले उहाँका दुवै हात गुमेका छन् । सबै कागजात जम्मा पारेर नागरिकता माग गर्दा पनि नपाएपछि साहलाई अपाङ्गता भएकैले राज्यसंयन्त्रबाट फरक व्यवहार गरेजस्तो लाग्छ । नागरिकता भएकाले परिवारका सबै सदस्यको मतदाता नामावलीमा नाम समावेश छ । राहुलले भने नागरिकता नपाएकैले २५ वर्ष पूरा हुँदा पनि मतदान गर्ने अवसर गुमाउँदै आउनुभएको छ । नागरिकता बनाउनका लागि कुरा राख्दा केही जनप्रतिनिधिले उहाँलाई मत खसाल्नुभएको छ ? भन्ने प्रश्न पनि गर्ने गरेका छन् ।“परिवारमा नागरिकता नहुने म एक्लै छु, म जिउँदो भए पनि मरेको अनुभूति गर्छु, मर्नुबाहेक अरु विकल्प छैन जस्तो लाग्न थालिसकेको छ, मेरो जस्तै समस्या भोग्ने धेरैले आत्महत्या नै विकल्प हो भन्न थालेका छन्, धेरैको तनावको विषय बनेको यो समस्या समाधानका लागि सरोकार भएका निकायको ध्यान जान सकेन”, उहाँले भन्नुभयो । संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप संशोधन नहुँदा राहुलजस्ता करिब १० लाखले नागरिकता पाउन नसकेको आज महिला, कानून र विकास मञ्चले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *